काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताएका छन्।
शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्व प्रहरी परिषद्को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले अवकाशपछि पनि राष्ट्र र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने दायित्व बाँकी रहने बताए। पूर्व प्रहरीहरूलाई संगठित गर्दै उनीहरूको अनुभव र योगदानलाई राष्ट्र सेवामा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
लिङ्देनले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक अवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै देशलाई बलियो बनाउन इमानदार राजनीतिक नेतृत्व र सशक्त नागरिक समाज आवश्यक रहेको बताए।
उनले भने, ‘यस्तो बेला राज्यका बारेमा जानेको, नागरिक समाजलाई बुझेको मानिसहरू तपाईँहरूको सक्रियताको खाँचो छ देशलाई। मुलुकलाई तपाईँहरूको योगदानको अझै खाँचो छ।’
उनले पूर्व प्रहरी परिषद्को अधिवेशन नेतृत्व चयन र समिति निर्माणमा मात्रै सीमित हुन नहुने बताए। देशभरका पूर्व प्रहरीसम्म संगठन विस्तार गरी उनीहरूको शक्तिलाई देश सेवाको महत्त्वपूर्ण काममा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
लिङ्देनले पूर्व प्रहरीहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा र अधिकारका विषयमा पनि परिषद्ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। पूर्व राष्ट्रसेवक तथा पूर्व प्रहरीहरू कतिपय सेवा सुविधाबाट वञ्चित रहेको र केही विषयमा असमान व्यवहार भइरहेको उल्लेख गर्दै उनले त्यसको समाधानका लागि संगठनले आवाज उठाउनुपर्ने धारणा राखे।
पूर्व प्रहरीहरूको उमेरभन्दा अनुभव, विचार, निष्ठा र इमानदारिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो। समाजलाई दिशा दिने काममा उमेरभन्दा निरन्तरता र लगनशीलताले महत्त्व राख्ने उनले बताए।
लिङ्देनले राप्रपाले उठाउँदै आएका राजसंस्था, सनातन हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजीका मुद्दाबारे पनि धारणा राखे। राजसंस्था व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको स्थायित्वका लागि आवश्यक रहेको उनले बताए।
‘राजसंस्था यो मुलुकको लागि आवश्यकता छ, यो मुलुकको स्थायित्वको लागि आवश्यक छ। त्यसकारण म राजसंस्थाको पक्षमा उभिएको हुँ र समग्र राप्रपा त्यही उद्देश्यले राजसंस्थाको पक्षमा उभिएको हो,’ उनले भने।
राजसंस्था र लोकतन्त्र एकअर्काका विरोधी नभएको दाबी गर्दै उनले बेलायत, जापान, स्पेन, नर्वे, स्विडेन र डेनमार्कलगायतका देशमा राजसंस्था र लोकतन्त्र सँगसँगै अघि बढेको उदाहरण प्रस्तुत गरे। राजा हुनु भनेको प्रजातन्त्र र लोकतन्त्रको अन्त्य हुनु नभएको विषय जनतामाझ स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, सनातन हिन्दु राष्ट्रको अवधारणा कुनै धर्म वा समुदायलाई निषेध गर्ने उद्देश्यले अघि नसारिएको उनले बताए। नेपालको मौलिक सभ्यता, संस्कृति र पहिचानको संरक्षणका लागि हिन्दु राष्ट्रको मुद्दा उठाइएको उनको दाबी थियो।