शनिबार, मंसिर १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट एकताका लागि राष्ट्रिय जागरण अभियान : अध्यक्ष प्रचण्ड

राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट एकताका लागि राष्ट्रिय जागरण अभियान : अध्यक्ष प्रचण्ड

 |  शनिबार, मंसिर १२, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १२, २०८३

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताएका छन्।

Machhapuchchhre

नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिद्वारा आयोजित बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दुईमहिने राष्ट्रिय जागरण अभियानलाई पार्टी पुनर्निर्माण, संगठनात्मक सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडिएको बताए।

उनले भने, ‘ राष्ट्रिय स्वाधीनतामाथिका चुनौतीलाई ध्यान दिँदै र जनतासँग पार्टीको सम्बन्धलाई पुनः सुदृढ गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको हो। यो अभियानका तीनवटा मुख्य उद्देश्य छन्। पार्टी सदस्यता नवीकरण र संगठनात्मक समायोजन सम्पन्न गर्ने, आगामी स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने र पार्टीको महाधिवेशनको तयारीलाई अगाडि बढाउने। साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा पनि यो अभियानलाई अघि बढाइएको छ।’

साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा पनि अभियानलाई अघि बढाइएको उनले बताए। प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादी आन्दोलनको बलियो राजनीतिक केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए। विभिन्न कम्युनिस्ट घटकसँग एकता, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढिरहेको उल्लेख गर्दै उनले अन्य कम्युनिस्ट समूहलाई पनि एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास जारी रहने बताए।

नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव तथा नेकपा मसालसँग दुईबुँदे प्रस्तावसहित विभिन्न राजनीतिक शक्तिसँग संवाद भइरहेको उनले जानकारी दिए।

उनले भने, ‘हामीले कम्युनिस्ट आन्दोलनको एकताको झन्डालाई अझ माथि उठाउने लक्ष्य लिएका छौँ। नेपालका साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने हाम्रो प्रयास जारी छ। एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाएका छौँ। विभिन्न पक्षसँग संवाद र सहकार्य गर्दै विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने दिशामा हामी अगाडि बढिरहेका छौँ।’

शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र र समावेशिताका पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याउन पार्टीले पहल गरिरहेको उनले बताए।

प्रचण्डले शान्ति सम्झौता र संविधान निर्माणपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा समाजवादी शक्तिसँग सम्बन्ध विस्तार गर्न पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे।

अहिले विश्व राजनीतिमा नयाँ ध्रुवीकरण भइरहेको उल्लेख गर्दै उनले एकध्रुवीय विश्व व्यवस्थाबाट बहुध्रुवीय व्यवस्थातर्फ विश्व अघि बढिरहेको बताए। युरोप, अमेरिका र ल्याटिन अमेरिकी मुलुकहरूमा समेत समाजवादी तथा कम्युनिस्ट विचारप्रति आकर्षण बढिरहेको उनको दाबी थियो।

नेपाली कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चहरूमा सहभागिता बढाउँदै विभिन्न देशका कम्युनिस्ट पार्टीसँग सहकार्य र संवाद विस्तार गरिरहेको उनले बताए।

प्रकाशित: Nov 28, 2026| 16:58 शनिबार, मंसिर १२, २०८३