शुक्रबार, मंसिर ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

 |  शुक्रबार, मंसिर ११, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ११, २०८३

धनुषा। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउनेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन्। 

Machhapuchchhre

भूमि समस्या समाधान समितिको कार्यप्रगति तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीका सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिएकी हुन्। 

मन्त्री रावलले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सोहीअनुरूप आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी गर्न कर्मचारीलाई आग्रह गरेकी थिइन्। नागरिकले सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री रावलले दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नेगरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन्। 

भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गरेकी थिइन्।

सरकारको मूलमन्त्र सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै मन्त्री रावलले यस विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारेकी थिइन्। सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन जिम्मेवार हुनुपर्ने उनले बताइन्।

मन्त्री रावलले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सरकारले अघि सारेका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको धारणा राखेकी थिइन्। 

छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी र भूमि प्रशासन कार्यालयका प्रमुख तथा भूमि समस्या समाधान समितिका पदाधिकारीलगायतको उपस्थिति थियो। 

प्रकाशित: Nov 27, 2026| 20:04 शुक्रबार, मंसिर ११, २०८३