विराटनगर । कोशी नदीमा भएको पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको थियो।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा २०८३ कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रा.लि.को नाममा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटना भएपछि सरकारले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो।
समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ।
प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायहरूको भूमिका, उद्धार तथा राहत व्यवस्थापनलगायतका विषय समेटिएका छन्।
त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको छ।
समितिले प्रतिवेदनमार्फत प्रस्तुत गरेका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन सरकारसमक्ष अनुरोध गरेको छ।