बुधबार, मंसिर ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको छ : अर्थमन्त्री वाग्ले

नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको छ : अर्थमन्त्री वाग्ले

 |  बुधबार, मंसिर ९, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ९, २०८३

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताएका छन्।

Machhapuchchhre

बुधबार अर्थ समितिको बैठकमा नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष परिचालनको अवस्था, लगानी र प्रतिफलको स्थिति, भावी कार्ययोजना तथा समस्या एवं सुधारका क्षेत्रबारे जानकारी दिँदै उनले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको बताए।

उनले भने, ‘यो ४७ सालमा आएको विधेयक, यसलाई अलिकति समयानुकूल अद्यावधिक गर्न नै हामीले खोजेका हौँ। र त्यसो गर्नका पछाडि यसको क्षमता अभिवृद्धि गर्ने, कोषको पुँजी संरचनामा चाहिँ सुधार गर्नलाई अब यो चुक्ता पुँजी पनि वृद्धि गर्ने, लगानीका क्षेत्र र वित्तीय उपकरणहरू अहिले नयाँ–नयाँ वित्तीय उपकरणहरू आइरहेका छन त्यसको दायरा पनि विस्तार गर्ने।’

उनका अनुसार कोषको पुँजी ८ अर्बबाट १० अर्ब रुपैयाँ पुर्याउने, सेयर कित्ता ८ करोडबाट १० करोड पुर्याउने तथा चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ।

विधेयकमा निजी इक्विटी, भेन्चर क्यापिटलजस्ता नयाँ लगानीका क्षेत्रसँगै पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने विषयसमेत समेटिएको छ।

‘जस्तो ४७ साल अलि पुरानो युगमा हामीले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता विषयमा प्रवेश गरेका थिएनौँ। अब त्यता पनि गर्नुपर्ने भयो। त्यस्तै पूर्वाधार र उत्पादनमूलक एवं आवास क्षेत्रमा पनि-हाउजिङ सेक्टर पनि ठूलो,’उनले भने। 

विधेयकमा कोषको परिभाषा तथा कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, लगानीका क्षेत्र तथा वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरणलगायत विषय समेटिएको उनले बताए।

संशोधन प्रस्तावअनुसार सञ्चालक समितिको पुनर्संरचना दफा २५ मा, लगानीका क्षेत्र तथा वित्तीय उपकरण विस्तार दफा ३२ मा र लेखा प्रणालीको आधुनिकीकरण दफा ३७ र ३८ मा व्यवस्था गरिएको छ। त्यस्तै, कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार निर्धारण तथा कोषको विशेष अधिकार विस्तार गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ।

त्यस्तै, मुद्दती निक्षेपमा लगानीसम्बन्धी व्यवस्था, राष्ट्रिय बीमा संस्थानको सट्टा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड राख्ने तथा कानुनी शब्दावलीमा आवश्यक परिमार्जन गर्ने प्रस्तावसमेत विधेयकमा गरिएको छ।

अर्थमन्त्री वाग्लेले संशोधनपछि कोषको पुँजीगत तथा संस्थागत क्षमता अभिवृद्धि हुने, राष्ट्रिय प्राथमिकताका पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुने अपेक्षा गरिएको बताए।

प्रकाशित: Nov 25, 2026| 15:04 बुधबार, मंसिर ९, २०८३