जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरेको धारणा राखेका छन्।
धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद झाले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोस्ट गर्दै ‘सिया बिन राम अधुरा’ भन्ने उख्खानबारे चर्चा गरे।
उनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेको अयोध्या जनकपुरधाम सरयू कमला एक्सप्रेस रेलले माता सीता र भगवान रामलाई जोड्ने ऐतिहासिक कार्य गरेको बताएका छन्। सांसद झाले यस रेल सेवाले दुबै देशबीचको पौराणिक र एतिहासिक सम्बन्धलाई थप प्रगाढ तुल्याएको धारणा राखेका छन्।
सांसद झाले अयोध्या जनकपुरधाम रेल सेवाले धनुषावासीलाई ठूलो अवसर सृजना गरेको उल्लेख गरेका छन्।
धनुषालगायतका क्षेत्रमा आर्थिक र पर्यटन क्षेत्रको विकासमा यस रेल सेवाले ठूलो भूमिका निर्वाह गर्ने सांसद झाको भनाई छ। उनले दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन्।
अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवाको उद्घाटन प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार गरेका छन्।
भोली(मंगलबार) विहान ९ः३० बजे सो रेल जनकपुरधाम आइपुग्ने समयतालिका छ। पहिलो पटक आउन लागेको यस रेलमा सवार ११०० यात्रुको स्वागतका निम्ति जनकपुरधाममा विशेष कार्यक्रमहरुको आयोजना गरिएको छ।