भैरहवा- नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर लडे कसैले हराउन नसक्ने दावी गरेका छन्।
उनले काँग्रेसलाई काँग्रेसकै साथीले हराउने गरेको बताए।
देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै डा.कोइरालाले राष्ट्रलाई अगाडि लैजाने पार्टी काँग्रेस नै भएको जिकिर गरे।
‘लोकतन्त्र आइसक्यो। प्रतिष्पर्धा हुन्छ। अब त राष्ट्रको लागि हामीले सोच्नुप¥यो। यो राष्ट्रलाई कसरी अगाडि लिएर लैजाने ? त्यतातिर हाम्रो ध्यान जाँदैन। हाम्रो ध्यान के मा जान्छ कि पैसा कमाउने नत्रभने कुनै ठूलो पदमा जाने। त्यो होइन। पद भनेको विपी कोइराला भन्नुहुन्थ्यो–‘प्रधानमन्त्रीको पद फाटेको जुत्ता हो। कहिले एउटाले लगाउँछ, फेरी अर्कोले लगाउँछ, मतलब हुँदैन।‘ प्रधानमन्त्री भएर के ग¥यो, त्यो महत्वपूर्ण हो’उनले भने।
उनले गिरिजाप्रसाद कोइरालाको पालोमा धेरै परिवर्तन भएको बताए। ‘एउटा मेडिकल कलेज थियो, २० वटा मेडिकल कलेज भयो। एउटा युनिर्भसिटी थियो, २० वटा भयो। आकाशमा हवाइजहाजहरु उडे। बाटो बने। ३ वर्षमात्र बस्नुभयो। बीचमा चुनाव भयो उहाँ हट्नुभयो,’डा. कोइराले भने।
काँग्रेसको इतिहास र सिद्धान्त बलियो भएको उनको भनाइ थियो। ‘जति गगन थापाको नाम लिनुहुन्छ, त्यति उहाँको महत्व बढ्छ। त्यसैले नामै नलिनुस्। को हो गगन थापा म त चिन्दा पनि चिन्दिन, ’उनले भने।
उनले धर्म निरपेक्ष हुन्छ र सापेक्ष नहुने बताउँदै धर्म स्वतन्त्र हुने धाणा राखे। ‘यो मेरो बटमलाईन हो। धार्मिक स्वतन्त्रता चाहिन्छ, ’उनले भने।
त्यस्तै काँग्रेसका पूर्व उपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा, सफल कार्यान्यवन र यसलाई दीर्घायू बनाउनुपर्नेमा जोड दिए।
‘नेपालको इतिहासमा नेपालको संविधान नेपालीले आफै बनाएको यो पहिलोपटक हो। संविधानमा अनेकौं कमीकमजोरी भएका होलान्। संविधान बनाएकोमा हामीले गर्व गर्नुपर्छ। त्यतिबेला संविधान नबनाएको भए के हुन्थ्यो, नेपाललाई दुनियामा असफल राज्य भनिन्थ्यो, ’उनले भने।
सुुशील कोइराला प्रधानमन्त्री बनेको बेला र नेपाली काँग्रेसको सुझबुझले नै संविधान बनेको उनले बताए। ‘संविधानलाई संशोधन गर्नुपर्छ तर, पछाडी फर्कनुहुँदैन, ’ निधिले भने।
पूर्वमन्त्री तथा नेता एनपी साउदले नेता मुद्दा, परिस्थिति र आवश्यकताले बनाउने बताए। ‘महाधिवेशन चुनौतिपूर्ण अवस्थामा छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टी एकता गर्न चाहँदैन, ’उनले भने।
पूर्वमन्त्री उमाकान्त चौधरीले काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु भएको बताए। ‘भदौ २४ गते काँग्रेसका नेताको घर छानीछानी आगजनी तथा तोडफोड भयो। हाम्रो नेताको गल्ती के थियो ? त्यतिबेला तत्कालिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो पद र निजी स्वार्थका लागि हस्ताक्षर अभियान सुरु गर्नुभयो। काँग्रेसको विधानभन्दा अरु ठूलो कोही होइन। विधानअनुसार काँग्रेसको कुनै पदाधिकारीले विशेष महाधिवेशन गर्न पाउँदैन, ’उनले भने।