शनिबार, मंसिर ५, २०८३

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार गर्न ओलीको निर्देशन

 |  शनिबार, मंसिर ५, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ५, २०८३

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिएका छन्। फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनलाई सक्रिय, कामकाजी र परिणाममुखी बनाउनुपर्ने बताएका हुन्।

Machhapuchchhre

ओलीले नेशनल भोलिन्टियर फोर्सको एक वर्षको अवधिमा राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा तथा विपद्का बेला उद्धार र राहतका काममा भूमिका देखिएको बताए। प्रतिकूल परिस्थितिमा स्थापना भएको संगठनले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ थियो।

उनले नेशनल भोलिन्टियर फोर्सलाई केवल संगठन विस्तारमा सीमित नराखी राष्ट्रको हित, राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षामा सक्रिय हुन आग्रह गरे।

‘नेपाली युवाहरू देशभक्त छन्। नेपाली युवाहरू लोकतन्त्रप्रति प्रेम गर्छन्, लोकतान्त्रिक अभ्यास गर्छन्। अलोकतान्त्रिक, अराष्ट्रिय र देशलाई क्षति पुर्याउने आगजनी, लुटपाट, तोडफोडजस्ता काम नेपाली युवाहरूले गर्दैनन्,’ ओलीले भने।

उनले नेपाली युवाहरूको शक्ति पुनःसंगठित गर्दै राष्ट्रिय हितको पक्षमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए। युवाहरूलाई देश निर्माण, विकास, उद्यमशीलता र सामाजिक सेवामा सक्रिय बनाउन फोर्स स्थापना गरिएको उनको भनाइ थियो।

ओलीले नेशनल भोलिन्टियर फोर्स शान्तिपूर्ण संगठन भएको उल्लेख गर्दै यसले भिडन्त खोज्ने नभई समाजमा देखिएका बेथिति रोक्न र गलत कामविरुद्ध आवाज उठाउनुपर्ने बताए।

‘यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो। यो लड्ने भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो,’ उनले भने, ‘हामी निहुँ खोज्न जाँदैनौँ, हामी कहिल्यै पनि भिडन्त खोज्दैनौँ।’

तर, अन्याय र आक्रमणको अवस्था आए प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै उनले संगठनलाई कमजोर नबनाउन र आफ्नो शक्ति विस्तार गर्न युवाहरूलाई आग्रह गरे। 

पार्टी अध्यक्षको गिरफ्तारीका क्रममा एमालेका नेता तथा कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र धरपकडको प्रसङ्ग उठाउँदै ओलीले राज्यका निकायहरू कानुन र संविधानअनुसार चल्नुपर्ने बताए।

उनले प्रहरी तथा प्रशासनलाई सरकारको आदेशभन्दा पनि कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे। राजनीतिक आस्थाका आधारमा कसैलाई पक्राउ गर्ने, दुःख दिने वा विभेद गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

ओलीले भदौ २०८२ को २३ र २४ गतेका घटनालाई एउटै आन्दोलनका रूपमा व्याख्या गर्न नहुने जिकिर गरे। उनका अनुसार भदौ २३ गते युवाहरूले आफ्ना माग राखेर आन्दोलन गरेका थिए भने त्यसपछि घुसपैठ भएर लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए।

उनले ती घटनामा संलग्न व्यक्ति र समूहको पहिचान गर्नुपर्ने तथा घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। आगजनी र तोडफोडमा प्रयोग भएका भनिएका रासायनिक पदार्थ तथा पेट्रोल बमबारे समेत अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: Nov 21, 2026| 17:07 शनिबार, मंसिर ५, २०८३