शुक्रबार, मंसिर ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

 |  शुक्रबार, मंसिर ४, २०८३

रबिन्द्र प्रताप गुप्ता

रबिन्द्र प्रताप गुप्ता

शुक्रबार, मंसिर ४, २०८३

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र स्वार्थका विषय सशक्त रूपमा उठाउन सुझाव दिएका छन्।

Machhapuchchhre

राप्रपा रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीको नेतामात्र नभइ सम्पूर्ण नेपालीको प्रधानमन्त्री भएको उल्लेख गरे।

भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई ३ करोड नेपालीको सद्भाव र स्नेह बोकेर जान आग्रह गर्दै उनले भ्रमण नेपालको राष्ट्रिय हित र स्वार्थको संवद्र्धनमा कोशेढुंगा बन्नुपर्ने बताए। 

नेपाल र भारतबीच धार्मिक, सामाजिक, साँस्कृतिक तथा पारिवारिक सम्बन्ध रहे पनि सीमा विवाद, व्यापार तथा पारवहन, डुबान र विगतमा सुरु भएका आयोजना कार्यान्वयनलगायतका समस्या रहेको उनले उल्लेख गरे। विगतका असमान सन्धि सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै थापाले यी सबै समस्या एउटै भ्रमणबाट समाधान नहुने भए पनि समाधान हुन नसकेका विषयलाई सशक्त रूपमा भारत सरकारसमक्ष राख्नुपर्ने बताए।

नेपालको आधुनिकीकरण र आर्थिक समृद्धिका लागि भारतसँग साझेदारी गर्ने नयाँ परियोजना, कार्यक्रम तथा नीतिको जग बसाल्न पनि प्रधानमन्त्रीलाई उनले आग्रह गरे।

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले आफूहरुको जिल्ला भ्रमण राप्रपाको महाधिवेशनमा भोट माग्नका लागि नभइ पार्टीलाई एकताबद्ध बनाउने र कार्यकर्तालाई उत्साहित गर्ने उद्देश्यले भइरहेको बताए।

राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको एजेण्डा नेपाल रहुञ्जेल जीवित रहने दावी गर्दै उनले देशी–विदेशी शक्तिको स्वार्थका कारण नेपालको हिन्दूराष्ट्रको पहिचान र राजसंस्थाको पहिचान समाप्त पारिएको टिप्पणी गरे।

नेपाली जनताले भोट हालेर हिन्दूराष्ट्र फ्याकेको हो र ? भन्दै उनले प्रश्न गरे। उनले भने, ‘नेपाली जनताले क्रान्ति गरेर वा भोट हालेर राजसंस्थालाई पाखा लगाएको होइन।’

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले कार्यकर्ताको माग र भनाइअनुसार नै आफूहरू जिल्ला भ्रमणमा निस्किएको बताए। राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई विचलित नभइ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरे। महाधिवेशनपछि राप्रपालाई देशको पहिलो पार्टी बनाउने लक्ष्यका साथ आफूहरू अघि बढेको पाण्डेले बताए। 

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बसन्त विक्रम शाही, लुम्बिनी प्रदेश सदस्य बलराम शर्मा, युवा नेता अजय कुमार गुप्ता, सिद्धार्थनगर सचिव प्रकाश ढाढीलगायतले आफ्‌नो धारणा राखेका थिए।

प्रकाशित: Nov 20, 2026| 16:57 शुक्रबार, मंसिर ४, २०८३