ओखलढुंगा। जिल्ला समन्वय समिति ओखलढुंगाका सदस्य एवम् नेपाली कांग्रेसका नेता भीम कुमार गौतमले देशको आर्थिक अवस्था, विकास निर्माणको आवश्यकता र राज्यको सीमित स्रोतसाधनलाई मध्यनजर गर्दै प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। उनले दुवै तहको निर्वाचन एउटै समयमा गराउने विषयमा राष्ट्रिय सहमति निर्माण गर्न आवश्यक रहेको बताएका हुन्।
आवश्यक परे संविधान संशोधन गरेर भए पनि प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने कानुनी तथा संवैधानिक व्यवस्था मिलाउनुपर्ने गौतमको धारणा छ। यस प्रकारको व्यवस्थाले निर्वाचनमा हुने ठूलो आर्थिक खर्च, प्रशासनिक व्यस्तता र राज्यको समय तथा स्रोतसाधनको दोहोरो उपयोगलाई उल्लेख्य रूपमा घटाउन सक्ने उनले उल्लेख गरेका छन्।
राज्यका लागि आर्थिक तथा व्यवस्थापकीय दृष्टिले छुट्टाछुट्टै समयमा निर्वाचन सञ्चालन गर्नु कति उचित छ भन्ने प्रश्न उठाउँदै उनले निर्वाचनमा खर्च हुने अर्बौँ रुपैयाँ शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारी सिर्जना जस्ता विकासका क्षेत्रमा लगाउन सकिने बताएका छन्।
निर्वाचन आयोगलगायत सम्बन्धित निकायले पनि आफ्नो सुविधा, भत्ता र प्रशासनिक सहजतालाई मात्र प्राथमिकता नदिई राष्ट्रिय आर्थिक हित र जनताको करबाट संकलित राजस्वको सदुपयोगलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ। निर्वाचन लोकतन्त्रको आधार भए पनि यसको व्यवस्थापन मितव्ययी, पारदर्शी र जनताप्रति उत्तरदायी हुनुपर्ने उनले स्पष्ट पारेका छन्।
दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमति जुटाउनुपर्नेमा जोड दिँदै गौतमले आवश्यक कानुनी तथा संवैधानिक व्यवस्था मिलाएर प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने दिशामा बहस सुरु गर्न आग्रह गरेका छन्। उनले राज्यको खर्च घटाएर विकासमा लगानी बढाउनुपर्ने सन्देश समेत दिएका छन्।