बुधबार, मंसिर २, २०८३

सभामुख अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष वानमिङको भेट

 |  बुधबार, मंसिर २, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २, २०८३

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जानकारी दिएको छ। 

Machhapuchchhre

सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको पनि सभामुखको सचिवालयले जानकारी दिएको छ। 

सभामुख अर्यालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेको बताउँदै शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखेका थिए। 

नेपालका स्थानीय तह र चीनका सहर तथा प्रान्तहरूबीच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदान र अनुभव साझेदारीलाई प्राथमिकता दिनुपर्ने सभामुखको भनाइ थियो। जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा दुवै देशबीच सहकार्य आवश्यक रहेको सभामुखले भनेका थिए। 

प्रकाशित: Nov 18, 2026| 16:58 बुधबार, मंसिर २, २०८३