आइतबार, कात्तिक २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास

छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास

 |  आइतबार, कात्तिक २९, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। उनले छठ पर्वले समाजमा सकारात्मक ऊर्जा भर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

Machhapuchchhre

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले सबैको जीवनमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने कामना गरेका छन्।

उनले छठ पर्वलाई प्रकृति र आस्थासँग जोडिएको महान् पर्वका रूपमा उल्लेख गर्दै यसले जीवनको गहिरो दर्शनसमेत सिकाउने बताएका छन्। उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अघ्र्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि उल्लेख गरेका छन्। पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अघ्र्य दिने परम्परा रहेको उनले स्मरण गराएका छन्।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सकारात्मक सोचलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना दिँदै ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भनेका छन्।

प्रकाशित: Nov 15, 2026| 12:01 आइतबार, कात्तिक २९, २०८३