शनिबार, कात्तिक २८, २०८३

अन्तिम सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा

 |  शनिबार, कात्तिक २८, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २८, २०८३

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्ने बताएका छन्।

Machhapuchchhre

देउवा पक्षको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नियमित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफूलाई व्यक्तिगत रूपमा केही पाउनु नरहेको तर पार्टीका लागि सङ्घर्ष गर्नु आफ्नो कर्तव्य भएको बताए।

उनले भने, ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, तर पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्नु मेरो कर्तव्य हो। यो पार्टीलाई म ज्यान दिन पनि तयार छु। हामी सबै सहिदहरूले बनाएको पार्टी हो। यो पार्टी नेपाली जनताले बनाएको पार्टी हो। जनताको त्याग र तपस्याबाट बनेको पार्टी हो। नेपाली जनताका प्रतिनिधिबाहेक अरू कसैले यो पार्टीलाई हाइज्याक गर्न सक्दैन, लान सक्दैन।’

देउवाले कांग्रेसको विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टी सभापतिको सहमतिबिना गगन थापा सभापति बनेको आरोप लगाए।

उनले विशेष महाधिवेशनका लागि पार्टीका ४० प्रतिशत सदस्यले हस्ताक्षरसहित माग गर्नुपर्ने र त्यसको प्रमाणीकरण आवश्यक रहेको बताए।

उनले भने, ‘विशेष अधिवेशन पहिला पनि हाम्रो पार्टीको भएकै हो। त्यसबेला विशेष अधिवेशनको सभापति सुवर्णशमशेर हुनुहुन्थ्यो। बीपी कोइराला सभापति हुनुहुन्नथ्यो, उहाँको समर्थन थियो। अघिल्लो पटकको महाधिवेशनमा को सभापति थियो, थाहै छैन। गगन थापालाई कार्यवाहक सभापति दिएको थिएँ। उपसभापति दिएको थिएँ। सभापति र उपसभापतिलाई विशेष महाधिवेशनको कुराकानी थाहै थिएन।’

उनले थपे, ‘मैले गगनजीलाई भनेको पनि थिएँ, नियमित महाधिवेशन गर्‍यौ, के कुराले विशेष गर्ने हुन्छ र ? विशेष गर्न पनि पाइन्छ। ४० प्रतिशत पार्टीका साथीहरूले हस्ताक्षर गरेर पठाए भने गर्नुपर्ने बाध्यता छ। खोइ त, सिग्नेचर भेरिफाइ गर्नुपर्‍यो नि। विनाप्रमाणीकरण सहीछाप मात्र भन्ने मात्र हैन।’

देउवाले आफू पार्टी सभापति रहेकै अवस्थामा विशेष महाधिवेशन आयोजना गरेर गगन थापा सभापति बनेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘यहाँ त विशेष महाधिवेशन भनेर गगन थापा सभापति भइसकेछन्। पार्टी सभापति मै छु, मैले हुन्छ भनेकै छैन। उसले बोलाएर विशेष महाधिवेशन गराएर आफू सभापति भइसकेछ।’

प्रकाशित: Nov 14, 2026| 19:26 शनिबार, कात्तिक २८, २०८३