काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन्।
पार्टीको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले एमालेले विगतमा गरेका कामको समीक्षा गर्दा आफूहरूमाथि भएको आक्रमणलाई पनि बुझ्नुपर्ने बताए।
उनले भने, ‘हामीले विगतका कामहरूको समीक्षा पनि गरेका छौँ। हामीमाथिको हमलाको एउटा कुरा ओझेलमा पर्ने गरेको छ। हामी किन धक्का खायौँ भन्दा हामीमाथि भित्री, बाहिरी चौतर्फी संयुक्त आक्रमण भएको थियो। हाम्रा विरोधीहरूले अत्यन्तै निर्णायक ढंगले हामीमाथि हमला गरे। हामीलाई एक्लै पारेर नै हमला गरे।’
ओलीले सरकारी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाट गर्ने नेपाली नै भएको दाबी गरे। उनले सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालतलगायतका सरकारी संरचनामा आगजनी गर्ने र विभिन्न व्यवसायमा तोडफोड तथा लुटपाट गर्ने काममा नेपालीहरू नै संलग्न भएको बताए।
उनले भने, ‘मैले भनिरहनुपर्ला जस्तो लाग्दैन। आगो लगाउनेमा को–को सामेल थिए ? लुट्नेमा को–को सामेल थिए ? विदेशबाट कोही आएर लुटेन। विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन्। केन्द्रीय प्रशासनिक भवनहरू, केन्द्रीय सरकार, संघीय संसद् भवन र सर्वोच्च अदालतमा आगो लगाउने नेपालीहरू नै थिए।’
ओलीले देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई ठूलो कर तिर्ने राष्ट्रिय उद्यमी तथा व्यवसायीका प्रतिष्ठानलाई छानीछानी निशाना बनाइएको आरोपसमेत लगाए।
उनले भने, ‘रोजगारीका हजारौँ अवसर सिर्जना गरेको, राज्यको ढुकुटीमा ठूलो कर तिरेको राष्ट्रिय उद्यमीले स्थापना गरेको र सञ्चालन गर्दै बढाउँदै लगेको व्यवसायलाई सिध्याउन किन पर्यो ? विदेशबाट आएका मान्छे होइनन्, यहीँका मान्छेले गरेका हुन्।’
उनले केही हजार नेपाली देशव्यापी रूपमा सरकारी सम्पत्तिमा आगजनी गर्ने, जनप्रतिनिधिमूलक संस्थाप्रति विरोध फैलाउने र नेताहरूको चरित्र हत्या गर्ने गतिविधिमा लागेको आरोप लगाए। यस्ता गतिविधि सिकाउने र फैलाउने काम भएको भन्दै त्यसका नेपालीहरू नै भरिया बनेको उनको भनाइ थियो।