शुक्रबार, कात्तिक २७, २०८३

भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

 |  शुक्रबार, कात्तिक २७, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं- सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

Machhapuchchhre

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरिएको जनाएको हो।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। सरकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। साथै, दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखिएको र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइएको कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम शीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ। यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको छ।

काठमाडौं–सर्लाही रुटमा सञ्चालन भइरहेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

छठ पर्व मनाउन घर जाने क्रममा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासा नगरपालिकाका बासिन्दा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 13, 2026| 14:59 शुक्रबार, कात्तिक २७, २०८३