जनकपुर- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिहरूमाथि प्रश्न उठाएका छन्। शुक्रबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महामन्त्री पौडेलले सरकारले अन्य दलहरूमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।
उनले पुराना पार्टीका पुराना नेताहरूजस्तै अहिलेको सरकार पनि कुनै कम नरहेको बताए। आफ्नो पार्टीमा मात्र नभई सरकारले अर्को पार्टीहरूमा कसलाई सभापति बनाउने, कसको पार्टी फुटाई दिने, कसलाई के दोष लगाइदिने जस्ता कार्यहरूमा केन्द्रित भएको महामन्त्री पौडेलले आरोप लगाएका छन्। आफ्नो पार्टीमा प्रश्न उठाउनेहरूलाई कसरी कमजोर बनाउने धन्दामा सरकार नेतृत्वको पार्टी लागि परेको पौडेलको भनाई छ।
महामन्त्री पौडेलले रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुप¥यो ? भनेर प्रश्न गरेका छन्। सरकारले गुटबन्दीको राजनिति सुरु गर्न खोजेको आभास भएको महामन्त्री पौडेलको भनाई छ। विगतमा राज्य सत्ता कब्जा गरेर शासन गर्न खोजेजस्तै अहिले पनि उही किसिमको कार्य भइरहेकोले पहिलेको सरकार र अहिलेको सरकारमा कुनै फरक नरहेको उनको भनाई छ।
महामन्त्री पोडेलका अनुसार रास्वपा नेतृत्वको सरकारसँग प्रश्नहरूको सामना गर्ने क्षमता छैन। सरकारको गतिविधिले नेपालको लोकतन्त्रलाई समाप्त पार्ने महामन्त्री पौडेलको भनाई छ। जनताको अपेक्षा विपरीत सरकारले कार्य गरिरहेको उनले बताए। दुई तिहाइ बहुमत प्राप्त भएर बनेको सरकारलाई अझै के चाहिएको छ ? भनेर महामन्त्री पौडेलले प्रश्न गरेका छन्।
कांग्रस पश्न गर्ने पार्टी भएकोले सरकारले काङ्ग्रेसमाथि प्रश्न नगरोस् भनेर सरकारले अनेकौँ प्रपञ्च गरिरहेको महामन्त्री पौडलले बताए। विधिको शासन र कानुनी राज्य रहेसम्म निर्दोषीलाई दोषी बनाउन नसकिने पौडेलको भनाई छ।