काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा तत्काल आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्षसँग जोडदार आग्रह गरेको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको प्रबन्ध मिलाउन, मृतकहरूको पहिचान र शव व्यवस्थापनमा सहयोग पुर्याउन तथा शोकसन्तप्त परिवारलाई तत्काल राहत एवं मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।
पार्टीले पीडित परिवारको अभिभावकत्व ग्रहण गर्दै आवश्यक राहत, सहयोग र सहजीकरणका लागि सरकार संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुने अपेक्षा व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा यस्ता सडक दुर्घटनाहरूको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नेमा पार्टीले विश्वास प्रकट गरेको छ।
भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा परी १० जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन्। छठ पर्व मनाउन आफ्नै घर फर्कने क्रममा घटेको यो गम्भीर दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवार तथा आफन्तहरूलाई एकैपटक गहिरो शोकमा डुबाएको छ।