काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हुने विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ को अवसरमा आयोजित ‘सबैका लागि प्रारम्भिक चेतावनी : सबैलाई सुरक्षित गर्ने हाम्रो वाचा पूरा गर्ने’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका समुदायका लागि प्रारम्भिक चेतावनी प्रणाली जीवन रक्षाको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे।
विपद्को सुरुवाती समयमा नेपालले प्रारम्भिक चेतावनी प्रणालीमार्फत लाखौँ एसएमएस पठाउनुका साथै तल्लो तटीय क्षेत्रका समुदायलाई स्थानीयस्तरमा सूचना उपलब्ध गराएको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो।
मन्त्री खनालले प्रभावकारी पूर्वसूचना प्रणाली विकासका लागि उच्च हिमाली क्षेत्रमा रहेको अवलोकनसम्बन्धी अन्तरलाई कम गर्नुपर्नेमा जोड दिए। त्यसका लागि वास्तविक समयको तथ्याङ्क सङ्कलन प्रणाली, उपग्रहमा आधारित रिमोट सेन्सिङ तथा हिममण्डल (क्रायोस्फियर) को अनुगमनलाई विस्तार गर्नुपर्ने उनले बताए।
त्यस्तै, स्थानीय भाषा र समुदायले सहजै बुझ्ने माध्यमबाट चेतावनी जारी गर्ने, पूर्वानुमानमा आधारित कार्यलाई प्राथमिकता दिने तथा अन्तिम तहसम्म सूचना पुर्याउने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।
उनले सगरमाथादेखि समुद्रसम्मको दृष्टिकोणलाई आत्मसात् गर्दै सीमापार तथ्याङ्क आदानप्रदानलाई बलियो बनाउनुपर्ने बताए।
जलवायु जोखिम न्यूनीकरणका लागि अनुमानयोग्य, सहज पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले जलवायुजन्य विपद्का बढ्दो प्रभावसँग जुध्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको बताए।