काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेवार समुदायले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्कृति संरक्षणका लागि अग्रज पुस्ताले गरेको संघर्ष र योगदानलाई नयाँ पुस्ताले बुझ्नुपर्ने बताए।
उनले भने, ‘हामीले यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेका छौँ। यो संघर्षको यात्रा र त्यसबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले पनि बुझ्नुपर्छ। हामीले अहिले जे गरिरहेका छौँ, त्यो हाम्रा पुर्खाले गरेको संघर्षकै उपलब्धि हो। त्यसलाई पुस्तान्तरण गर्न जरुरी छ।’
मन्त्री श्रेष्ठले नेवार समुदायको आन्दोलनबाट केही महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे। उनले नेवा विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्नु, नेपाल संवत्लाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने प्रयास र सांस्कृतिक सम्पदाको संरक्षणका लागि भएका पहललाई उपलब्धिका रूपमा व्याख्या गरे।
उनले भने, ‘पहिलो कुरा, हाम्रो आन्दोलनले नेवा विश्वविद्यालयको माग उठायो र त्यसको प्रक्रिया अघि बढेको छ। दोस्रो, नेपाल संवत्लाई राष्ट्रिय रूपमा सम्मान र पहिचान दिलाउने काम भएको छ। तेस्रो, हाम्रा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पनि पहल भएको छ। यी सबै हाम्रा आन्दोलन र सांस्कृतिक अभियानका उपलब्धि हुन्।’
उनले संघीय संसद्मा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी विधेयकमाथि छलफल भइरहेको जानकारी दिँदै विधेयक निर्माण र कार्यान्वयनमा सरोकारवालाको सहभागिता आवश्यक रहेको बताए।
उनले भने, ‘यो विधेयक बनाउने काम मात्रै पर्याप्त हुँदैन। यसको निर्माणदेखि कार्यान्वयनसम्म सबैको सहभागिता आवश्यक छ। त्यसैले यसमा सबैलाई सहभागी हुन विनम्रतापूर्वक आग्रह गर्दछु।’
मन्त्री श्रेष्ठले भाषा, संस्कृति र परम्परालाई दैनिक जीवनमा अभ्यास गर्नुपर्नेमा जोड दिए। नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।