मंगलबार, कात्तिक २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड

नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड

 |  मंगलबार, कात्तिक २४, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं- सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत्‌को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन्।

Machhapuchchhre

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मंगलबार गृहमन्त्री सुधन गुरुङको उपस्थितीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट राज्य विमुख हुन नहुनेमा उनले जोड दिए।

उनले भने, ‘सरकारी कामका सार्वजनिक अभिलेख शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा यसको प्रयोग विस्तार गर्न सरकारले स्पष्ट नीति आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनु पर्छ। शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट पनि राज्य विमुख हुनु हुँदैन।’  

नेपाल संवत् केवल वर्ष गणना गर्ने आधार नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको बताए।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक योगदान सामाजिक न्याय र लोककल्याणको अनुपम उदाहरण भएको उल्लेख गरे।

‘शंखधर साख्वाको जीवनले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने महत्वपूर्ण सन्देश दिएको छ। यही मूल्य आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा आत्मसात् गर्न आवश्यक छ’, उनले भने।

सभामुख अर्यालले नेपाल संवत् आन्दोलनले भाषा, लिपि, संस्कृति र पहिचानको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान गरेको बताए। आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता प्रदान गरिनु महत्वपूर्ण उपलब्धि भए पनि मान्यतालाई घोषणामा मात्र सीमित राख्न नहुने उनले बताए। 

मौलिक संस्कृति र सम्पदा विगतको सम्झना मात्र नभई भावी पुस्ताको पहिचान र भविष्यको आधारसमेत भएको उल्लेख गर्दै उनले आधुनिक विकाससँगै मौलिकता जोगाउनु आजको आवश्यकता रहेको बताए।

उनले इतिहास र संस्कृतिको संरक्षण, सार्वजनिक जीवनमा इमानदारी र जवाफदेहिता कायम तथा विविधताबीचको एकता र सामाजिक सद्भावलाई बलियो बनाउने संकल्प गर्न पनि सबैलाई आग्रह गरे।

सभामुख अर्यालले नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, एकता, समृद्धि र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।

प्रकाशित: Nov 10, 2026| 13:06 मंगलबार, कात्तिक २४, २०८३