चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन्।
नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताए।
उनले बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य संघले जानकारी गराएलगत्तै आफूले सम्बन्धित सबै निकायलाई तत्काल जानकारी गराएको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको बताए। उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
सभापति लामिछानेले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिए।
