काठमाडौं- नेकपा (एमाले) का सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई सम्बोधन गर्दै राईले विश्वमा देखिएका विभिन्न चुनौती समाधान गर्न द्वन्द्वभन्दा संवाद र विभाजनभन्दा सहकार्य आवश्यक रहेको बताएका हुन्।
नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले सबै राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय समस्याहरूको समाधान वार्ता र संवादका माध्यमबाट खोजिनुपर्ने नेपालको धारणा रहेको उनको भनाइ थियो।
नेपाल भारत र चीनजस्ता दुई ठूला छिमेकी राष्ट्रको बीचमा अवस्थित रहेको उल्लेख गर्दै राईले दुवै देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले महत्त्व दिँदै आएको बताए। नेपालको भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गर्ने नभई जोड्ने माध्यम बन्नुपर्ने उनको धारणा थियो।
राईले अन्तर्राष्ट्रिय सम्बन्धले आम नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुर्याउनुपर्ने बताए। युवाका लागि रोजगारी, व्यवसायीका लागि अवसर, विद्यार्थीका लागि शिक्षा तथा प्रविधि र श्रमिकका लागि सुरक्षा एवं सम्मान आवश्यक रहेको उनले उल्लेख गरे।
नेपालमा जलविद्युत् तथा स्वच्छ ऊर्जाको क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै उनले त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गरिने बताए। विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए।
सम्बोधनका क्रममा राईले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र त्यसको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
भोटेकोशी क्षेत्रसहित नेपालका विभिन्न स्थानमा हालै आएका विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै उनले प्रभावित परिवारले घर, जीविकोपार्जनका आधार र सुरक्षाको अनुभूति गुमाएको बताए।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून रहे पनि जलवायु परिवर्तनका गम्भीर असर नेपाली जनताले भोग्नुपरेको उनको भनाइ थियो।
जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने मुलुक र समुदायले नै बढी क्षति बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै उनले प्रभावित राष्ट्रलाई सहानुभूतिसँगै व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभई विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै राईले यसका असर न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।
उनले फरक राजनीतिक विचार र पृष्ठभूमि भएका देश तथा दलहरूबीच पनि संवादको निरन्तरता आवश्यक रहेको बताए। टकरावको सट्टा संवाद, विभाजनको सट्टा सहकार्य र द्वन्द्वको सट्टा शान्तिलाई प्राथमिकता दिन उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।
राईले विश्वका विभिन्न देशका नागरिकका भाषा, संस्कृति र राष्ट्रियता फरक भए पनि उनीहरूका आधारभूत आकांक्षा समान रहेको बताए। हरेक अभिभावक आफ्ना सन्तान सुरक्षित भएको देख्न चाहने, युवाहरू अवसरको खोजीमा रहने र परिवारले शान्तिपूर्ण तथा समृद्ध भविष्यको अपेक्षा गर्ने उनको भनाइ थियो।
‘हाम्रा झण्डा फरक हुन सक्छन् र हामीले बोल्ने भाषा पनि फरक हुन सक्छ, तर हाम्रो मानवता एउटै छ। हामीसँग एउटै विश्व छ र यो हामी सबैको साझा हो,’ उनले भने।
भावी पुस्ताका लागि विश्वलाई अझ सुरक्षित र बसोबासयोग्य बनाउन सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिँदै राईले इतिहासले विभाजनका भिन्नताभन्दा आपसी विश्वास, संरक्षण गरिएको शान्ति र सामूहिक रूपमा निर्माण गरिएको भविष्यलाई सम्झिनुपर्ने धारणा व्यक्त गरे।
