काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको टिप्पणी गरेका छन्।
सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपसभापति शर्माले कुनै कारण स्पष्ट नगरी प्रहरी महानिरीक्षक हटाएकोप्रति टिप्पणी गर्दै सिंहदरबारमा रमिता चलिरहेको बताएका हुन्।
उनले भने, ‘सरकारको प्रवक्ता के भन्नुहुन्छ, पार्टीको निर्देशनमा हटाइयो। एक घण्टा नभइकन पार्टीको प्रवक्ता प्रवक्ता के भन्नुहुन्छ, हाम्रो निर्देशन गएको छैन। लेख्नुस् सिंहदरबारमा रमिता चलिरहेको छ। लेख्नुस् बालुवाटारमा रमिता चलिरहेको छ।’
उनले अहिले सार्बजनिक भएको भनिएको अडियोको विषय छानबिन गर्न माग गर्दै काँग्रेस आफु र आफ्नो नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार रहेको बताए।
कांग्रेसले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दै आफुहरुले सरकारका गलतकामको प्रश्न गर्न नछोड्ने स्पष्ट गरेका छन्।
उनले उपसभापति पुष्पा भुसालको समन्वयमा विपक्षी दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन्। शर्माले सञ्चारमाध्यमहरुलाई प्रश्न गर्दै आफ्नै कार्यालय अगाडी राखेको गाडीको विषयमा प्रश्न गर्न छोडेको उल्लेख गर्दै प्रश्न गर्न नछोड्न आग्रह गरे।