काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा करिब एक घण्टा भेटवार्ता भएपछि राजनीतिकमा अनेक टिका टिप्पणी शुरु भएको छ।
थापा सभापति बनेपछि ओलीसँग भएको यो पहिलो भेटलाई राजनीतिक वृतमा अनेक किसिमले विश्लेषण गरिएको छ। यसअघि ओलीले पटक पटक भेट गर्न गरेको पहललाई नजरअन्दाज गर्दै आएका थापाले पछिल्लो राजनीतिक घटनाक्रमपछि ओलीलाई भेटगर्न उनकै निवासमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ।
भेटमा भएका छलफलको विषय दुवै पक्षले सार्बजनिक नगरेपनि थापाले मधेश र गण्डकी प्रदेशमा सरकार निर्माणदेखि पछिल्लो समय सरकारका गतिबिधि बारे छलफल गरेको बुझिएको छ।
इनम सापकोटा प्रकरणमा कथित रुपमा आफ्नो नाम मुछिएपछि केहि रक्षात्मक बनेका थापाको यो भेट पत्रकार धरपकडपछि कांग्रेसले अघि सारेको राजनीतिक संवादको रणनीतिसँग पनि जोडिएको बताइएको छ।
एमालेले समर्थन फिर्ता लिएपछि मधेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्ने अवस्था छ भने गण्डकी प्रदेशको सत्ता समीकरण पनि कांग्रेसका लागि अर्को चुनौती बनेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि त्यहाँ पनि राजनीतिक अन्योल बढेको छ। एमालेले प्रचण्डसँग मिलेर प्रदेशमा सरकार बनाउने रणनीति बनाएपछि भएको थापा र ओलीको यो भेटले प्रदेशमा फेरी नयाँ समीकरण बन्नसक्ने अड्कलबाजी समेत भएको छ।
अर्कोतर्फ, इनम सापकोटा प्रकरणमा गगन थापाको नाम जोडिएपछि कांग्रेसको नयाँ नेतृत्वमाथि राजनीतिक दबाब बढेको छ। थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिलाउने प्रक्रियामा १८ करोड रुपैयाँको कारोबार भएको र न्यायाधीशलाई समेत रकम दिएको दाबीसहितको अडियो सार्वजनिक भएको छ। यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
त्यस्तै, पत्रकारमाथि भएको धरपकडपछि कांग्रेसले सबै राजनीतिक दलसँग संवाद गर्ने रणनीति अघि सारेको छ। कात्तिक १५ गतेको विशेष बैठकपछि सभापति थापाले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भए प्रतिवाद गर्ने बताएका थिए। उनले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टीसहित संसद्भित्र र बाहिर रहेका दल तथा नागरिक समाजसँग छलफल गर्ने नीति सार्वजनिक गरेका थिए। ओलीसँगको भेटलाई यही रणनीतिको एउटा हिस्साका रूपमा पनि हेरिएको छ।
गगन–ओली भेटले तत्काल कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बन्ने संकेत भने दिएको छैन। तर प्रदेश सरकारको नेतृत्व, सम्भावित सत्ता सहकार्य र राष्ट्रिय राजनीतिक मुद्दामा दुई दलबीच संवादको ढोका खुला राख्ने प्रयासका रूपमा यसलाई लिन सकिने विश्लेषण गरिएको छ।
गगन थापाका लागि अहिले प्रदेश सरकार जोगाउनु चुनौती र मुख्य प्रथामिकता होइन। अब निर्वाचन हुन लागेको प्रदेशको सरकार जोगाउन उनले ओलीलाई भेटेको भनेर विश्वास गर्ने आधार देखिदैन। सरकारले एक पछि अर्को गर्दै गरिरहेका धरपकड, अविश्वासको वातावरण, संबिधानको उपेक्षासहितका विषयमा विपक्षी दलहरु रणनीतिक रुपमा अगाडी बढ्न यो भेट भएको अड्कल सजिलै गर्न सकिन्छ।