काठमाडौं। सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ।
संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं, तिलोत्तमा र बुटवलका स्थानीय तहमा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन्। उनले भवनको संरचनागत सुरक्षा, नक्सा परीक्षण, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा काम गरेको अनुभव छ।
पाण्डेले सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक र सन् २०१६ मा भारतबाट संरचनागत इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। उनले नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन्।
उनको नियुक्तिसँगै लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, निर्माण आयोजनाको गुणस्तर अनुगमन, संरचनाको संरक्षण तथा प्राविधिक व्यवस्थापनमा इन्जिनियरिङ अनुभव उपयोग हुने अपेक्षा गरिएको छ।