काठमाडौं- इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले नटिङ्घम फरेस्टलाई १–० गोलले पराजित गरेको छ। आइतबार राति भएको खेलमा नोनी मादुएकेले खेल सकिन १० मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बनेको थियो।
नटिङ्घमस्थित सिटी ग्राउन्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। आर्सनलले बलमा बढी नियन्त्रण राखे पनि पहिलो हाफमा गोल गर्न सकेन। घरेलु टोली फरेस्टले पनि केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।
दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले मादुएकेलाई मैदानमा उतारेका थिए। उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए। उनको प्रहार फरेस्टका खेलाडी जाइर कुन्हालाई लागेर गोलमा परिणत भएको थियो।
खेलको अन्तिम समयमा फरेस्टले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। आर्सनलले एक गोलको अग्रता जोगाउँदै महत्त्वपूर्ण तीन अङ्क हासिल गर्यो।
यस जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। टोली अङ्कतालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा तीन अङ्कले पछाडि छ। पराजित नटिङ्घम फरेस्ट भने रेलिगेसन क्षेत्रमा पुगेको छ। नटिङ्घमको ७ खेलमा ५ अंक रहेको छ।