शनिबार, असोज ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटन विकासको सम्भावना बोकेको बुद्धकालीन रोहिणी सभ्यता ओझेलमा

पर्यटन विकासको सम्भावना बोकेको बुद्धकालीन रोहिणी सभ्यता ओझेलमा

 |  शनिबार, असोज ३१, २०८३

कमल रायमाझी

कमल रायमाझी

शनिबार, असोज ३१, २०८३

रूपन्देही। रूपन्देहीको पूर्वी क्षेत्रमा बग्ने रोहिणी नदी नाम प्राकृतिक जलस्रोत मात्र नभई बुद्धकालीन इतिहास, सभ्यता र शान्तिको सन्देशसँग जोडिएको छ। 

प्राचीन शाक्य र कोलिय गणराज्यबीचको जलविवाद र भगवान् गौतम बुद्धले दिनुभएको शान्तिको सन्देशसँग सम्बन्धित यस नदीको ऐतिहासिक महत्त्व रहे पनि यसको पर्याप्त खोज, अनुसन्धान, संरक्षण र पर्यटकीय विकास हुन सकेको छैन। 

पहाडी क्षेत्रबाट उद्गम भई रूपन्देहीको देवदह, तिलोत्तमा, ओमसतिया र रोहिणी गाउँपालिकाका विभिन्न क्षेत्र हुँदै भारततर्फ बग्ने रोहिणी नदीले यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको छ। नदी आसपासको प्राचीन सभ्यता र बुद्धकालीन घटनासँगको सम्बन्धलाई उजागर गर्न सके यसले लुम्बिनी क्षेत्रको बौद्ध पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्ने सम्भावना छ।

बौद्ध इतिहासका अनुसार रोहिणी नदीको पानी बाँडफाँटलाई लिएर शाक्य र कोलिय गणराज्यबीच विवाद उत्पन्न भएको थियो। खेतीपातीका लागि पानी उपयोग गर्ने विषयमा सुरु भएको विवाद युद्धको अवस्थासम्म पुगेपछि बुद्धले हस्तक्षेप गरी मानवजीवनको मूल्य पानीभन्दा ठूलो रहेको सन्देश दिएको बुद्ध त्रिपिटकमा उल्लेख छ। पानीका लागि मानव जीवन समाप्त गर्नु उचित नहुने सन्देशमार्फत उनले दुवै पक्षलाई युद्धबाट पछि हट्न प्रेरित गरेका थिए।

यस प्रसङ्गले रोहिणी नदीलाई जलस्रोतका रूपमा मात्र नभई शान्ति, सहअस्तित्व र विवाद समाधानको प्रतीकका रूपमा समेत महत्त्वपूर्ण बनाएको छ। यही ऐतिहासिक पक्षलाई आधार बनाएर नदीसँग सम्बन्धित सभ्यताको अध्ययन र प्रवर्द्धन गर्नुपर्ने सरोकारवालाको भनाइ छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख दयानिधि गौतमका अनुसार रोहिणी नदी बुद्धकालीन सभ्यता र इतिहाससँग जोडिएको महत्त्वपूर्ण नदी हो। यससँग सम्बन्धित ऐतिहासिक घटनाको अध्ययनले बुद्धको शान्ति र मानवतावादी दर्शनलाई बुझ्न सहयोग पुर्‍याउने उनको भनाइ छ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले रोहिणी सभ्यताको खोज, अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताए। ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको पहिचान गरी पर्यटकीय स्थलका रूपमा विकास गर्न सके बौद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनको भनाइ छ।

स्थानीय सञ्चारकर्मी अञ्जना चौहानले रोहिणी सभ्यतालाई लुम्बिनीसँग जोडेर विश्वस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। यसका लागि राज्यले रोहिणी नदीको ऐतिहासिक महत्त्व पहिचान गर्दै संरक्षण, प्रचारप्रसार र पर्यटन विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

बुद्ध अनुसन्धानका ज्ञाता सुरज घिमिरेका अनुसार रोहिणी नदीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व उजागर गर्न प्रामाणिक अनुसन्धान र संरक्षण आवश्यक छ। लुम्बिनी, देवदह र प्राचीन कपिलवस्तुसँग जोडेर रोहिणी सभ्यताको अध्ययन तथा पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रलाई अन्तरराष्ट्रिय बौद्ध पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।

रोहिणी नदीको ऐतिहासिक पहिचान स्थापित गर्न नदीको उद्गम, प्राचीन बस्ती, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक सम्पदाको अनुसन्धान आवश्यक देखिन्छ। स्थानीय तह, लुम्बिनी विकास कोष, विश्वविद्यालय तथा अनुसन्धानकर्ताबीच सहकार्य गरी संरक्षण र पर्यटन विकासका योजना अघि बढाउन सके बुद्धले दिएको शान्ति र सहअस्तित्वको सन्देश बोकेको रोहिणी सभ्यतालाई विश्वसामु चिनाउन सकिने अपेक्षा गरिएको छ।

प्रकाशित: Oct 17, 2026| 22:26 शनिबार, असोज ३१, २०८३
प्रतिक्रिया दिनुहोस्