काठमाडौं- चालू आर्थिक वर्ष २०८३/०८४ को दुई महिनामा बीमा पोलिसी सरेण्डर रकम साढे दुई अर्ब भन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालू आवको आर्थिक वर्षको साउन र भदौ महिनामा जीवन बीमा कम्पनीहरूबाट दुई अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बाहिरिएको हो।
उक्त सरेण्डर रकम गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा २.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको साउन र भदौ महिनामा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत दुई अर्ब ५० करोड सात लाख रुपैयाँ बाहिरिएको थियो। सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या भने गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा ५.६७ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको दुई महिनामा १५ हजार ८९८ जनाले बीमालेख समर्पण गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा भने १४ हजार ९९६ जनाल मात्रै पोलिसी समर्पण गरेका छन्। त्यस्तै, जीवन बीमकहरुमा व्यतीत बीमालेख रकम (नवीकरण नगरिएको रकम) भने २.३० प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको दुई महिनासम्म बीमालेख नवीकरण नगरिएको रकम ३५ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा व्यतीत बीमालेख रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ रहेको थियो। यता व्यतीत बीमालेखको संख्या पनि १६.६९ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा १० लाख १० हजार ९९६ वटा बीमा पोलिसीहरु रिन्यु भएका छैनन्। गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख १३ हजार ५६२ रहेको थियो।