काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रका तीन पदको मतगणना सम्पन्न भएको छ। सम्पन्न मतगणनाबाट सहमहामन्त्री, केन्द्रीय सदस्य (खुला) र केन्द्रीय सदस्य (महिला) पदमा तीन जना निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही तीन हजार ९०६ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जनक राज गिरीले एक हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर बिस्टले २६० मत पाएका छन्।
त्यस्तै, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, खुला) मा दिपकजंग शाह दुई हजार २६१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी तपेन्द्र खड्काले दई हजार ४४, कालीबहादुर सहकारीले ८७७, ईश्वरबहादुर मल्लले ७८१ र विरेन्द्रराज गिरीले ५३४ मत पाएका छन्।
त्यसैगरी, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, महिला) मा सुशीला मिकत दुई हजार ९८६ मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिष्पर्धी जुना कुमारी दानीले दुई हजार १० र शान्तिकुमारी बोहरा पुजाराले एक हजार ५३३ मत पाएका छन्।