विराटनगर- कोशी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन बिराटनगरमा सुरू भएको छ।
कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
सम्मेलनमा प्रदेशका साझा समस्या, अधिकार बाँडफाँट, आर्थिक स्रोतको वितरण, प्रशासनिक स्वायत्तता र वित्तीय संघीयताबारे तथा संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन गर्न देखिएका अवरोध हटाउने विषय पनि प्राथमिकतामा रहने बताइएको छ।
मुख्यमन्त्रीसँगै प्रदेशका प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्ताहरू पनि सम्मेलनमा सहभागी छन्। प्रदेशबीच समन्वय बढाउने, कानुन निर्माणमा एकरूपता कायम गर्ने र सफल अभ्यास आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ।
प्रदेशहरूले आफ्ना माग अलग-अलग रूपमा उठाउँदै आए पनि यसपटक साझा धारणा बनाएर संघीय सरकारको ध्यानाकर्षण गराउने लक्ष्य राखेका छन्। अधिकारसँगै आवश्यक बजेट, जनशक्ति र प्रशासनिक संरचना उपलब्ध गराउनुपर्ने विषय पनि उठाइनेछ।
सम्मेलनको अन्त्यमा प्रदेशका साझा माग, प्रतिबद्धता र संघीयता प्रभावकारी बनाउने उपाय समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गर्ने तयारी छ।
सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मंगलबहादुर शाही सहभागी छन्। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट उपस्थित हुन नसकेपछि उनको स्थानमा प्रमुख सचिव सहभागी भएका छन्।