मंगलबार, असोज २७, २०८३

कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

 |  मंगलबार, असोज २७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।

कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो।

दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने चार क्लस्टरको मतगणना जारी छ। अरु छ क्लस्टरको गणनाको तयारी भइरहेको उहाँले बताउनुभयो। निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ। त्यस्तै पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको पनि गणना पूरा भएको छ।

यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदको मतगणना अहिले जारी छ। हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।

त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि तीव्र रूपमा भइरहेको छ। बाँकी रहेका अन्य क्लस्टरको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ। 

यस्तै, दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य, अल्पसङ्ख्यक तथा अपाङ्तातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य गर्न बाँकी नै छ।

मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य तथा पेसागततर्फको खुला र महिला केन्द्रीय सदस्यको मतगणनाको पनि तयारी भइरहेको कांग्रेसले जनाएको छ।

प्रकाशित: Oct 13, 2026| 10:46 मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्