काठमाडौं- अलग्गै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ।
पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको काम ८० प्रतिशत सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरणराज पौडेलले जानकारी दिए।
उनले भने,‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ। दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ।’
कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन सम्पन्न गर्नलाग्दा इतर समूहले अलग्गै महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो। विहीबार नै काठमाडौं महानगरको नगर अधिवेशन हुँदैछ।
उक्त समूहले पनि १५औं महाधिवेशन आगामी २१–२३ मंसिरका लागि तोकेको छ। सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर हो।
‘७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतले काम गरिरहेका छन्। तोकिएको मितिमा महाधिवेशन गरेर पार्टीलाई सुदृढ ढंगले अगाडि बढाउँछौं,’ अर्का नेता गुरुराज वरालले भने।
नेता बरालले संस्थापन समूहको महाधिवशेनलाई ‘क्लब’ संज्ञा दिंदै भविष्यमा खुम्चिएर सानो आकार लिने दाबी समेत गरे। ‘भग्रेल्ती पद थप्ने र विशेष महाधिवेशनका अगुवाहरुले आफू पराजित हुने डरले आफ्नो पद आफैं सिर्जना गरेर सुरक्षित रहने काम गरेका छन्। यस्तो काम लोकतान्त्रिक चरित्रको मान्न सकिदैन,’ उनले भने।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशनमा होमिएका दुवै समूहले आफ्नो हठ कायम राखेका छन्।