मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मदनराज उपाध्यायद्वारा कांग्रेस युवा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

मदनराज उपाध्यायद्वारा कांग्रेस युवा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मदनराज उपाध्यायले पार्टीको १५औं महाधिवेशनअन्तर्गत खुला युवा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार मनोनयन दर्ता गराउँदै उनले परिवर्तनकारी युवा चेतना, सुशासन र पार्टीभित्र नीतिगत रूपान्तरणलाई आफ्नो उम्मेदवारीको मुख्य प्राथमिकता बनाएका हुन्।

गत वर्ष भदौमा भएको 'जेनजी' आन्दोलनपछि मुलुकको राजनीतिमा युवाहरूको भूमिका थप सशक्त र निर्णायक बनेको पृष्ठभूमिमा उपाध्यायले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

युवा पुस्तालाई केवल चुनावी घोषणापत्र वा आश्वासनमा मात्र सीमित नराखी राज्यको शासन, नीति निर्माण र निर्णय प्रक्रियामा प्रत्यक्ष साझेदार बनाउनुपर्ने धारणा उनले व्यक्त गरेका छन्।

उपाध्यायले पार्टीको नेतृत्वमा नयाँ अनुहारको आगमनसँगै राजनीतिक व्यवहार, पारदर्शिता र जवाफदेहितामा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्।

स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्नका लागि सूचना प्रविधि, डिजिटल सेवा, पर्यटन र नवप्रवर्तनमा आधारित आर्थिक नीति अपनाउनुपर्नेमा उनको वकालत छ। यसका साथै, सार्वजनिक नियुक्तिहरूमा निष्पक्षता, खर्च र निर्णय प्रक्रियामा पूर्ण पारदर्शिता तथा भ्रष्टाचारविरुद्ध कडा कानुनी जवाफदेहिता कायम गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारेका छन्।

त्यस्तै, भूगोल, वर्ग र समुदायका फरक-फरक प्राथमिकताहरूलाई समेट्दै महिला, दलित, मधेशी, जनजाति तथा कर्णालीका युवाहरूसहितको समावेशी र विविधतायुक्त नेतृत्व विकासमा ध्यान दिइने उनले बताएका छन्।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि देशमा नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई वर्तमान पुस्ताको चाहना-अर्थात् सुशासन, आर्थिक आत्मनिर्भरता र परिणाममुखी कार्यशैलीसँग जोड्नैपर्ने उपाध्यायको ठहर छ। उपाध्याय नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट स्थापित भएका युवा नेता हुन्।

प्रकाशित: Oct 06, 2026| 21:27 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्