मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस उपसभापतिका उम्मेदवार भण्डारी, गुरुङ र सीता गुरुङका आ–आफ्नै एजेन्डा

कांग्रेस उपसभापतिका उम्मेदवार भण्डारी, गुरुङ र सीता गुरुङका आ–आफ्नै एजेन्डा

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उपसभापति पदमा उम्मेदवारी दिएका नेताहरूले पार्टीको रूपान्तरण, सुदृढीकरण र समावेशी लोकतन्त्रलाई प्राथमिकतामा राखेका छन्। 

मंगलबार मनोनयन दर्ताका क्रममा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले कांग्रेसलाई ‘म’ बाट ‘हाम्रो’ र ‘हाम्रो’ बाट ‘हामी’ बनाउने अभियान आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा भएको बताए।

उनले कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै पहिलो पुस्ताले पार्टीलाई ‘म’ बाट ‘हामी’ र ‘हामी’ बाट ‘हाम्रो’ बनाउन संघर्ष गरेको बताए।

उनले भने,‘यो पार्टी चार पुस्ताको पार्टी हो। पहिलो पुस्ताले पहिलो पुस्ताले ‘मु’ बाट ‘हामी’, ‘हामी’ बाट ‘हाम्रो’ बनाउनका निम्ति लड्यो। हजारौँ मानिसहरू यसको निम्ति ज्यान गुमाए, जीवन गुमाए, जबानी गुमाए। तर सत्ताले ‘हाम्रो’ बाट ‘मु’ मा झारिदियो। त्यो कमजोरीलाई हामीले बुझेर अबको पुस्ताले फेरि ‘मु’ बाट ‘हाम्रो’, ‘हाम्रो’ बाट ‘हामी’ नेपाली बनाउने अभियानमा मेरो उम्मेदवारी हो। यो भन्दा ठुलो एजेन्डा केही पनि हुँदैन। हाम्रो इतिहास बनायौँ हामीले, हामीले अब मुलुक बनाउनु छ। त्यही हाम्रो एजेन्डा हो।’

उनले कांग्रेसले देशको नेतृत्व गर्दै अघि बढ्नुपर्ने बताए। महाधिवेशनको उद्घाटन कार्यक्रमदेखि प्रस्तुतिसम्मका गतिविधिले कांग्रेस नयाँ ढङ्गले अघि बढ्ने संकेत गरेको उनको भनाइ थियो।

उपसभापति पदकै उम्मेदवार धनराज गुरुङले भने आफ्नो उम्मेदवारीलाई व्यक्तिगत एजेन्डाभन्दा पार्टीको सिद्धान्त, विचार, नीति र कार्यक्रम कार्यान्वयनसँग जोडेर हेर्नुपर्ने बताए।

‘यो पार्टीको आन्तरिक प्रतिस्पर्धा हो। आन्तरिक प्रतिस्पर्धामा विचार, सिद्धान्त, नीति, कार्यक्रम अहिले बन्द सेसनबाट भकाभक पास गरिरहेका छौँ। त्योभन्दा बाहिरको एजेन्डा व्यक्तिगत हुँदैन। पार्टीको सबलीकरणको सन्दर्भमा हामीले बन्द सत्रबाटहिजो पनि धेरै कुराहरू पास गरेका छौँ। आज पनि त्यसको निरन्तरता रह्यो। पार्टीमा आफ्नो क्षमता देखाउने हो। कर्म देखाउने हो,’ गुरुङले भने।

उनले पार्टीको सिद्धान्त परिवर्तन नहुने तर समयअनुसार विचार, नीति र कार्यक्रम परिवर्तन हुन सक्ने बताए।

पछाडि फर्केर भन्दा कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। बीपीवाद कांग्रेसले नछाडेको दाबी गर्दै गुरुङले पछिल्ला ३५ वर्षको बहसमा नअल्झिन आग्रह गरे।

यसैगरी, समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएकी नेत्री सीता गुरुङले कांग्रेसलाई समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्रमा सशक्त ढङ्गले उभ्याउने लक्ष्यसहित उम्मेदवारी दिएको बताइन्।

उनले २०४६ सालको जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै नेविसंघ, तरुण दल, महिला संघ हुँदै केन्द्रीय कार्यसमितिको तीन पटक सदस्य भएर काम गरेको अनुभव सुनाइन्। साथै उनी पहिलो र दोस्रो संविधानसभाको सदस्यका रूपमा संविधान निर्माणमा सहभागी भएको र छोटो समय मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेको बताइन्।

आफूसँग पार्टी संगठन, संविधान निर्माण, सरकार सञ्चालन तथा देशका विभिन्न भूगोलमा काम गरेको अनुभव रहेको बताउँदै उनले महिला र युवाको सहभागिता बढाउँदै कांग्रेसलाई बलियो र समावेशी पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताइन्।

प्रकाशित: Oct 06, 2026| 19:56 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्