मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सेती अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिन सक्छ, व्यवस्था बिग्रिनु हुँदैन : रास्वपा नेता भट्ट

सेती अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिन सक्छ, व्यवस्था बिग्रिनु हुँदैन : रास्वपा नेता भट्ट

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डिल्लीराज भट्टले सेती प्रादेशिक अस्पतालमा विगत १७ दिनदेखि सिटी स्क्यान सेवा पूर्ण रूपमा ठप्प बनेको प्रति गम्भीर ध्यानाकर्षण गराउँदै ४८ घण्टाभित्र सेवा सुचारु गर्न वा वैकल्पिक व्यवस्था मिलाउन माग गरेका छन्।

अस्पताल व्यवस्थापन समितिका पूर्वसदस्य तथा रास्वपा डोटीका जिल्ला सहसचिव एवम् संगठन विभाग प्रमुख भट्टले प्राविधिक कारणले मेसिन बिग्रिए पनि लामो समयसम्म सेवा रोकिनु प्रशासनिक गैरजिम्मेवारीपन भएको बताएका हुन्।

मुख्य 'एक्स-रे ट्युब' बिग्रिएका कारण सेवा रोकिनु प्राविधिक विषय भए तापनि एउटा पार्ट्स बिग्रिँदा सुदूरपश्चिमका करिब ३० लाख नागरिकको स्वास्थ्य सेवाको पहुँच यति लामो समय रोकिनु चिन्ताजनक रहेको भट्टको भनाइ छ। 

स्वास्थ्य सेवा केवल भवन, मेसिन र बजेटको विषय मात्र नभई नागरिकको समय, पैसा र जीवनप्रतिको राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै उनले बिरामीको जीवनले प्रशासनिक ढिलाइ नबुझ्ने र सार्वजनिक स्वास्थ्य सेवा ‘भोलि’ भन्ने शब्दमा चल्न नसक्ने बताएका छन्।

भट्टले तत्काल प्राविधिक समस्या समाधान गरी ४८ घण्टाभित्र सीटी स्क्यान सेवा सञ्चालन गर्न र यदि तत्काल मर्मत सम्भव नभए बिरामीहरूका लागि वैकल्पिक सरकारी वा सहुलियतपूर्ण व्यवस्था मिलाउन स्पष्ट माग गरेका छन्। साथै, मर्मतमा भएको ढिलाइ, वारन्टी दाबी र स्पेयर पार्ट्स व्यवस्थापनको सम्पूर्ण विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न पनि उनले अस्पताल व्यवस्थापनसँग माग गरेका छन्।

मेसिन बिग्रिए पनि व्यवस्थापनको संवेदना बिग्रिन नहुने भन्दै भट्टले विपन्न नागरिकसँग उपचार कुर्ने समय नहुने भएकाले तुरुन्त कदम चाल्न ध्यानाकर्षण गराएका छन्। सुदूरपश्चिम प्रदेशको मुख्य प्रेषण अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा अवरुद्ध हुँदा सर्वसाधारण बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउन बाध्य भइरहेका छन्।

प्रकाशित: Sep 29, 2026| 19:51 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्