सुर्खेत- बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन्।
जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो। अदालतले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि थापालाई सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट त्रिपुरासुन्दरी नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए।