काठमाडौं- हिमलुङ हिमालको आधार शिविरमा गएको ठूलो हिमपहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्य प्रतिकूल मौसम र अस्थिर हिमाली अवस्थाका कारण अस्थायी रूपमा रोकिएको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार घटनास्थलबाट चार जनाको शव निकालिएको छ भने १२ जना कुक कर्मचारी अझै बेपत्ता छन्। माउन्टेन गाइड मिङ्मा जी. शेर्पाको नेतृत्वमा संघको उद्धार टोली जीवित व्यक्ति भेटिने आशासहित हिमाल चढेको थियो। अत्यन्त कठिन परिस्थितिमा लामो समय खोजी गरेपछि चार जनाको शव फेला परेको एसोसियसनले जनाएको छ।
आधार शिविर क्षेत्रमा करिब १४ फिट हिउ जमेकाले हरेक ठाउ हातैले खोतलेर खोज्नु कठिन र जोखिमपूर्ण भएको थियो। अत्यधिक चिसो र अस्थिर हिउले उद्धार टोलीको काम थप चुनौतीपूर्ण बनाएको एसोसिएसनले बताउदै वर्तमान अवस्था सुरक्षित नभएकाले टोलीले खोजी अभियान अस्थायी रूपमा रोकिएको छ। हिउ र हिमालको अवस्थालाई निरन्तर निगरानी गर्दै सुरक्षित भएपछि बाँकी बेपत्ताको खोजी तथा शव निकाल्न सम्भव प्रयास गर्ने एसोसियसनले जनाएको छ।