आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • खराब मौसमका कारण प्रमुख पदयात्रा मार्गमा रोक, उच्च हिमाली क्षेत्रमा नजान टानको आग्रह

खराब मौसमका कारण प्रमुख पदयात्रा मार्गमा रोक, उच्च हिमाली क्षेत्रमा नजान टानको आग्रह

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काठमाडौं- प्रतिकूल मौसमका कारण नेपालका प्रमुख पदयात्रा गन्तव्य तथा मार्गमा अस्थायी रूपमा रोक लगाइएको छ। ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले जारी गरेको सुरक्षा सूचनामार्फत पदयात्री तथा सहयोगी टोलीका सदस्यको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

एसोसियसनका अनुसार मनसुन लगातारको वर्षा, हिमपात, पहिरो र सडक सञ्जालमा आएको अवरोधका कारण केही क्षेत्रमा पदयात्रा तथा आवागमनमा प्रतिबन्ध लगाइएको र अझै पूर्ण रूपमा अन्त्य नभएकाले सबै पदयात्रा क्षेत्रमा सावधानीपूर्वक योजना बनाएर यात्रा गर्न आग्ररह गरेको छ।

सगरमाथा क्षेत्रमा तल्लो उचाइका स्थानमा वर्षा भइरहेको छ भने डिङबोचेभन्दा माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको र यस क्षेत्रमा रहेका पदयात्रीलाई थप उच्च उचाइतर्फ नजान आग्रह गरिएको छ। उच्च क्षेत्रमा पुगिसकेका पदयात्रीलाई समेत सुरक्षित आवास वा सुरक्षित आश्रयस्थलमा बस्न र स्थानीय प्रशासन तथा पदयात्रा मार्गदर्शकको निर्देशन पालना गर्न भनिएको छ।

मनास्लु क्षेत्रमा स्थानीय प्रशासन तथा मनास्लु संरक्षण क्षेत्र आयोजनाले आजका लागि पदयात्रामा रोक लगाएका छन्। पदयात्रा प्रवेश अनुमति दिउँसोपछि मात्र जारी हुने अपेक्षा गरिएको छ। त्यसैले आज नभई भोलिबाट पदयात्राको आधिकारिक सुरुवात हुने एसोसियसनले जनाएको छ। आज तोकिएका जाँच चौकीमा प्रवेश अनुमति जाँच नहुने जनाइएको छ।

मनास्लु क्षेत्रमा जगतदेखि सिरदिबाससम्मको तल्लो मार्गमा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्दै वर्षाका कारण दोभान क्षेत्रमा ढुंगा खस्ने जोखिम रहेकाले विशेष सतर्कता आवश्यक रहेको जनाइएको छ।

त्यस्तै, पदयात्रीले जीपमार्फत माछाखोला वा जगतसम्म यात्रा गर्न सक्ने भए पनि बाटोको अवस्थाबारे सावधानी अपनाउनुपर्नेछ। लार्के पाससहित उच्च हिमाली भेगमा निरन्तर हिमपात र वर्षा भइरहेकाले कम्तीमा भोलिसम्म उच्च पासतर्फ नजान आग्रह गरिएको छ। बाटो खुलेपछि थप सूचना जारी गरिने एसोसियसनले जनाएको छ।

अन्नपूर्ण क्षेत्रमा पनि स्थानीय प्रशासन तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आज पदयात्रामा रोक लगाएका छन्। प्रवेश अनुमति दिउँसोपछि जारी हुने अपेक्षा गरिएकोले पदयात्राको आधिकारिक सुरुवात भोलिबाट हुने जनाइएको छ। अन्नपूर्ण क्षेत्रमा तल्लो मार्गमा पहिरोको जोखिम रहेकाले पदयात्रीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। थोराङला र तिलिचो ताल जस्ता उच्च क्षेत्रमा निरन्तर हिमपात र वर्षा भइरहेकाले कम्तीमा भोलिसम्म त्यस्ता क्षेत्रमा नजान भनिएको छ।

लगातारको वर्षाका कारण धेरै स्थानमा सडक सञ्जालसमेत प्रभावित भएको छ। विशेषगरी बेँसीसहर–मनाङ सडकखण्डमा समस्या देखिएको भन्दै पदयात्रीलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा तल्लो मार्गमा पहिरोको सम्भावनाप्रति सचेत रहन आग्रह गरिएको छ।

त्यस्तै, धौलागिरि, डोल्पा र हुम्ला क्षेत्रमा रहेका प्रमुख पदयात्रा गन्तव्यमा ठूलो अवरोधको सूचना प्राप्त नभए पनि भारी वर्षाका कारण पहुँच मार्गका धेरै सडक प्रभावित भएका छन्। एसोसियसनले यी क्षेत्रमा तल्लो मार्गमा पहिरोको जोखिमप्रति सचेत रहन र कम्तीमा भोलिसम्म उच्च हिमाली पासतर्फ नजान आग्रह गरेको छ। मौसम तथा बाटोको अवस्था हेरेर थप सूचना जारी गरिने जनाइएको छ।

एसोसियसनले तीव्र वर्षा र हिमपातका कारण प्रमुख पदयात्रा गन्तव्य तथा मार्गमा अस्थायी प्रतिबन्ध वा बन्दको अवस्था रहेकाले पदयात्री र सहयोगी टोलीलाई स्थानीय प्रशासन तथा मार्गदर्शकको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै मनसुनको अवधि अझै समाप्त नभएकाले यात्राअघि मौसम, सडक र पदयात्रा मार्गको अवस्था बुझेर मात्र योजना बनाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान आग्रह गरेको छ।

प्रकाशित: Sep 27, 2026| 14:03 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्