काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई आज रातिको सत्रमा सम्बोधन गर्दैछन्।
राष्ट्रसंघले सार्वजनिक गरेको कार्यतालिका अनुसार न्यूयोर्क समयअनुसार २४ सेप्टेम्बर २०२६, बिहीबार दिउँसो ३ बजेदेखि शुरु हुने सत्रमा बोल्ने पालो छ। जुन नेपाली समयअनुसार यो सत्र शुक्रबार मध्यरात पौने १ बजेदेखि शुरु हुनेछ। नेपालको पालो दोस्रो सेसनको १७औं स्थानमा रहेको छ, जसअनुसार प्रधानमन्त्री शाहको पालो नेपाली समयअनुसार भोलि बिहान ४ बजेदेखि साढे ४ बजेको आसपास मात्र आउने देखिन्छ।
प्रधानमन्त्री शाहले त्यसअघि राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस भ्रमणमा उनको अन्य भेटवार्ताको कुनै कार्यक्रम तय नभएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। महासभाको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेव टिभीको लिंक webtv.un.org मा प्रत्यक्ष प्रशारण हुनेछ।
महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका प्रतिनिधिहरुसँग साइडलाइन भेटवार्ता गरिरहेका छन्। प्रधानमन्त्री शाह भने सम्बोधन पछि तुरुन्तै स्वदेश फर्किने कार्यतालिका रहेको छ।