काठमाडौं- नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
हस्ताक्षरअघि दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए। उनीहरूले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका असर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
भेटमा पर्यटन, शिक्षा लगायत साझा चासोका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।
ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशको संख्या १८६ पुगेको छ।