न्युयोर्क। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय छलफल आजदेखि सुरु भएको छ। उद्घाटन कार्यक्रममा नेपालबाट परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउँदै छन्। उनले आगामी सेप्टेम्बर २४ मा महासभाको सामान्य छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस वर्षको महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, परिवर्तनको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ रहेको छ। उक्त विषयले संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तप्रति नेपालको निरन्तर विश्वास र विश्व शान्ति, मानव मर्यादा तथा दिगो विकास प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई समेटेको छ।
नेपालले कसैलाई पनि पछाडि नछोड्ने भावनासहित विश्व शान्ति, मानव मर्यादा र दिगो विकासका लागि आफ्नो प्रतिबद्धता अघि बढाउँदै आएको जनाएको छ।