काठमाडौं- सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
बिहान १०:०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ।
स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०:०० बजे बस्नेछ। सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:१५ बजे बस्दैछ। सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदैछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११:३० बजे बस्दैछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदैछ।