काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालबीच भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार, सुरक्षा र पुनःस्थापनाबारे छलफल भएको छ।
सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने भन्दै उनले सुरक्षित स्थान पहिचान गरी तीनै तहको समन्वयमा एकीकृत बस्ती विकासको योजना अघि बढाइने बताए।
उत्तरगया अध्यक्ष अर्यालले राहत तथा उद्धारलाई थप व्यवस्थित बनाउनुपर्ने भन्दै प्रभावितको तथ्याङ्कमा एकरूपता कायम गर्न आवश्यक रहेको बताए। उनले अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टाछुट्टै संयन्त्र बनाएर काम गर्न तथा गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगलाई प्रभावितको आवश्यकताअनुसार परिचालन गर्नुपर्नेमा जोड दिए।
छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने विषयमा पनि कुराकानी भएको थियो। बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।