काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउन मन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क प्रस्थान गरेका हुन्।
उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन्। साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
महासभालाई प्रधानमन्त्री बालेन्द्र शाहले असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
त्यसका लागि प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते (सेप्टेम्बर २२) मा अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम रहेको छ।