काठमाडौं- नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो।
पार्टी पुनर्गठनको बहस चलिरहेका बेला नेतृत्वबीच सहमति जुट्न नसकेपछि एउटै प्रतिवेदन तयार पार्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ।
यसअघि महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर बादलले अलग अलग प्रतिवेदन तयार गरेपछि विवाद बढेको छ। अघिल्लो साता आवासीय बैठक बसेर दुवै प्रतिवेदनलाई एक बनाउने प्रयास गरिएको भएपनि नेताहरुबीच सहमति हुन नसकेपछि अध्यक्ष केपी ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले अलग्गै प्रतिवेदन तयार गरेको बुझिएको छ। ज्ञवालीको प्रतिवेदन आजको बैठकमा पेश हुने बताइएको छ।
आज कार्यदल बैठकपछि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ। सचिवालयले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ। केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्ने तयारी छ।