काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति गहिरो चिन्ता व्यक्त गर्दै कांग्रेसलाई एकताबद्ध राख्न सबै नेता–कार्यकर्तासँग अपिल गरेका छन्। उनले खुला पत्र सार्वजनिक गर्दै कांग्रेसको शक्ति विभाजनमा नभई सहमति, सहकार्य र एकतामा रहेको बताएका हुन्।
डा. कोइरालाले नेपाल अहिले राष्ट्रिय रूपमा संवेदनशील मोडमा उभिएको उल्लेख गर्दै राजनीतिक दलहरूले समझदारी र सहकार्यबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रको अस्तित्व, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका बिर्सन नहुने उनको भनाइ छ।
उनले कांग्रेसको इतिहास संघर्ष, त्याग र बलिदानले निर्माण भएको स्मरण गराउँदै संस्थापक नेता विपी कोइरालालगायतका नेताले छाडेको निष्ठा, आदर्श र नैतिकताको मार्गबाट पार्टी विचलित हुन नहुने बताएका छन्।
पार्टीमा घोषित दुई महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने खतरा रहेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न विवेकपूर्ण मध्यमार्गी समझदारी खोज्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्- 'म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन। कांग्रेसमा कोही हार्ने र कोही जित्ने होइन, एकताबद्ध कांग्रेस नै सबैभन्दा ठूलो जित हो।'
रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीले नागरिक पीडामा रहेको बेला कांग्रेस आन्तरिक विवादमा अल्झिनु दुःखद भएको उनले बताएका छन्। विपद्पीडितको पीडा बुझ्दै पार्टीले मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
डा. कोइरालाले कसैप्रति आरोप–प्रत्यारोप नगर्ने स्पष्ट पार्दै गाउँ, टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई पार्टी एकताको अभियानमा दृढतापूर्वक जुट्न आग्रह गरेका छन्। उनले कांग्रेसको एकता र राष्ट्र निर्माणलाई अलग–अलग रूपमा बुझ्न नसकिने पनि उल्लेख गरेका छन्।