काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा उद्धार तथा खोजी कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने भएकाले भ्रमण रद्द गरिएको मन्त्रालयले जनाएको छ।
क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति नियमित बनाउने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गरेका हुन्।
मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘विश्वव्यापी पूर्वाधार सहकार्य सम्मेलन २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।
उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो।