सोमबार, भदौ २९, २०८३

वीरगन्जका निलम्बित मेयर राजेशमान सिंहले पाए सफाइ

 |  सोमबार, भदौ २९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०८३

वीरगन्ज। वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।

विशेष अदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित सातै जना प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो। अदालतको यस आदेशसँगै सिंहको मेयर पदको निलम्बन स्वतः फुकुवा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहले अरूकी छोरीलाई आफ्नै छोरी भनी झूटो विवरणका आधारमा नागरिकता दिलाएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेका व्यक्ति स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था अनुसार उनी सोही दिनदेखि निलम्बित भएका थिए।

सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएको आरोप अख्तियारले लगाएको थियो। तर सिंहले भने भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका थिए।

अख्तियारले मेयर सिंहका साथै वीरगन्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृहमन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध मुद्दा दायर गरेकोमा अदालतले सबैलाई सफाइ दिएको छ।

प्रकाशित: Sep 14, 2026| 20:31 सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्