काठमाडौं। नेपाली कांग्रेसका नेता तथा १४औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय र संवादलाई बेवास्ता गर्दै एकतर्फी रूपमा महाधिवेशन अघि बढाउनु उचित नभएको बताए।
उनले पार्टीको लोकतान्त्रिक मूल्य, वैधानिकता र एकतालाई कमजोर पार्ने गरी पद बाँडफाँडलाई समाधानको आधार बनाउन नहुने उल्लेख गरे। 'नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,' उनले भने।
कोइरालाले विधि र प्रक्रिया मिचेर संस्थापन पक्षले अघि बढाउन लागेको महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै आफुहरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व भएको दाबि गर्दै असोज १५ गतेदेखि वडा हुदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सबै कांग्रेसका नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ।