बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : प्रमुख सचेतक थापा

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : प्रमुख सचेतक थापा

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।

विहीबार नेपाली कांग्रेसले आब्हान गरेको विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको अवस्था, उद्धार तथा सरकारले गरिरहेको कामकारबाहीबारे छलफल भएको उनले बताइन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भनिन्, ‘बैठक भोटेकोशीको बाढीपहिरोको सम्बन्धमा नै हो। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू धेरै प्रभावित भएका छन्। त्यहाँ भइरहेको उद्धार र कामकारबाहीको विषयमा छलफल गरेका छौँ। सरकारले गरेका कामहरू कतिको प्रभावकारी भएका छन् र कतिसम्म अगाडि बढाउनुपर्ने हो साथै कसरी निरन्तरता दिने हो भन्ने कुरामा पनि छलफल भयो।’

उनले बैठकमा तय गरिएका नौबुँदे कामको कार्यान्वयनको अवस्थाबारे समेत छलफल भएको बताइन्।

उनले भनिन्, ‘सर्वदलीय बैठक बस्दा केही बुँदाहरू बनाएका थियौँ। कामहरूका बारेमा नौं बुँदा बनाएका थियौँ। त्यो कति कार्यान्वयन भयो र कति हुन बाँकी छ साथै यसलाई अब कसरी अगाडि बढाउने भन्ने कुरामा छलफल भयो। वुधबार सत्तापक्षका सभापतिज्यूले सदनबाट भन्नुभएको विशेष संसदीय विशेष समिति गठन गर्ने भन्ने विषयमा पनि छलफल गरेका छौं।’

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणका विषयमा पनि बैठकमा छलफल भएको उनले बताइन्। विपद्को समयमा स्थानीय तह र प्रदेश सरकारसमेत मिलेर काम गरिरहेको उल्लेख गर्दै थापाले सरकारले अझै प्रभावकारी ढंगले काम गर्न सक्ने बताइन्।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी थिए।

प्रकाशित: Sep 10, 2026| 13:42 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्